प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीबाट सात राजनीतिक दलको प्रतिनिधित्व भएको छ । मुलुकले अपनाएको मिश्रित निर्वाचन प्रणालीअनुरुप मतदाताले पुनःमिलेर सरकार चलाउन राजनीतिक दललाई निर्वाचनमार्फत सन्देश दिएका छन् । यसै सन्दर्भमा निर्वाचनको नतिजा, नयाँ राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विकास र समृद्धिका विषयमा गरिएको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ ।” मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा प्रजातान्त्रिक खेमामा रही छ दशकदेखि निरन्तररुपमा सक्रिय रहँदै आउनुभएका महन्थ ठाकुर बौद्धिक एवं परिपक्क राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । पछिल्लो दशक मधेस र मधेसीको हकहितमा क्रियाशील लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरसँग प्रतिनिधिसभाको उपसभामुख र ज्येष्ठ सदस्य भएर सम्पूर्ण सांसदलाई शपथ खुवाइ सदन सञ्चालन गरेको अनुभव पनि छ ।