२८ मंसिर, काठमाडाैं ।
नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गरी आजदेखि अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको उल्लेख गर्दै महानगरपालिका विश्वको ३५औँ हस्तकला सहर घोषणा हुनु गर्वको विषय भएको बताउनुभयो । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेको छ ।
सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोच राखेको भए पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको प्रमुख महर्जनले दुःखेसो गर्नुभयो । अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने उहाँको दाबी छ । ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामान राख्ने गरी पाटनढोकामा कोसेली घर स्थापना गरिएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपाललाई हरेक देशमा चिनाउने हस्तकला क्षेत्र भएको र यसमा मुलुकले गर्व गर्नुपर्ने धारणा राख्नुभयो । हस्तकला व्यवसायलगायत औद्योगिक व्यावसायिक क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि महासङ्घले पहल गरिरहेको उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले ललितपुर हस्तकलाको राजधानी भएको र यसको मौलिकतालाई बचाइराख्नुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको सङ्कटका कारण साना मझौला उद्योगमा बढी समस्या रहेको आफूहरुको अध्ययनले देखाएको उल्लेख गर्दै निकासीजन्य क्षेत्र हस्तकलाको महत्व विशिष्ट भएकाले यस क्षेत्रको समस्या सम्बोधन जरुरी रहेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला ग्राम चाँडै सञ्चालनमा ल्याउनुपर्ने, हस्तकला क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने तथा निकासी वृद्धि र आन्तरिक खपतमा सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष तथा लामो समय सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।