नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले पत्रकारलाई आइपर्ने कानूनी समस्या समाधान गर्न वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न पहल गर्ने भएको छ । महासङ्घको १० औँ साधारणसभाले कानूनी समस्या आइपरेमा पत्रकारको सहयोगका लागि वैतानिक कानून व्यवसायी राख्ने व्यवस्था गर्न महासङ्घको प्रदेश र केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । समाचार सम्प्रेषण गरेबापत कतिपय पत्रकारलाई ‘साइवर क्राइम’को मुद्दा लगाएर पक्राउ गर्ने गरिएकाले वैतनिक कानून व्यवसायीको माग उठाइएको शाखा अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । “पछिल्लो समय देशभरका पत्रकार समाचारका विषयलाई लिएर ‘साइवर क्राइम’ सहित अन्य कानूनी झमेलामा फस्दै गएका छन्”, उहाँले भन्नुभयो, “झमेलामा फसेका पत्रकारको सहयोगार्थ वैतनिक कानून व्यवसायीको आवश्यकता साधारणसभामा औँल्याइएकाले महासङ्घको प्रदेश र केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।” साधारणसभाले तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रु एक लाखबाट पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने, कोष सञ्चालनका लागि सञ्चालक समिति गठन र कार्यविधि निर्माण गर्ने, कोषको राशि वृद्धि गर्दै जाने, प्राप्त ब्याजबाट हरेक वर्ष साधारणसभामा एक क्रियासिल पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यसैगरी महासङ्घको नयाँ पक्की भवन निर्माणका लागि दिक्तेलबजारभित्र आवश्यक जग्गा खोजी गर्ने, जग्गा प्राप्त नभए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा (साविक दिक्तेल–६) मा महासङ्घकै नाममा रहेको पुरानो कच्ची भवन हटाएर पक्की भवन निर्माणको प्रक्रिया अगाडि बढाउनेपनि निर्णय गरिएको छ ।