नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी काम गरे पनि महिला मजदुरले भने कम ज्याला पाउने गरेको तारा कुमालको गुनासो छ । “श्रीमान्को कमाइले मात्र खर्च पुग्दैन्, छोरो बिरामी छ”, कुमालले भन्नुभयो, “दिनभरि मजदुरी गरेपनि हामी महिलाको दैनिक रु साढे छ सय ज्याला छ पुरुषको साढे सात सय छ ।” गैँडाकोटमा मजदुरी गर्ने दाङकी जानकी चौधरीको भोगाइ बुलिङटारका तारा कुमालको भन्दा अझ विभेदपूर्ण छ । “दिनभरि काम गर्दा महिलालाई रु छ सय दिन्छन् पुरुषहरुलाई नौ सय दिन्छन्”, चौधरीले भन्नुभयो । निर्माण क्षेत्रमा पुरुष कामदारले दैनिक सात सयदेखि हजारसम्म ज्याला पाउँछन् । महिला कामदारले पाँच सयदेखि सात सयसम्म पाउँछन् । कृषि क्षेत्रमा काम गर्ने मजदुरले लिङ्गकै आधारमा पारिश्रमिकमा विभेद भौग्दै आएका छन् । श्रम ऐनले समान काममा समान ज्यालाको प्रत्याभूति गरेको छ । तर कानुनमा लेखिएको कुरा व्यवहारमा देख्न पाइँदैन । विशेषगरी ग्रामीण क्षेत्रका महिलाले समान काममा समान ज्याला पाउन सकेका छैनन् । ज्यालामा महिला र पुरुषबीच भएको विभेद अन्त्य गर्न स्थानीय सरकारले प्रभावकारी भूमिका निभाउनुपर्ने धेरैको तर्क छ । तर स्थानीय सरकारसमक्ष यस विषयमा कुनै गुनासो नआएको गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोइराला बताउनुहुन्छ