सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् । विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाले विशेष पहल गरेपछि किशोरीहरु विद्यालय जान थालेका हुन् । नगरपालिकाले किशोरीलाई विद्यालय जाँदा पुस्तक, झोला र स्टेशनरी प्रदान गरेपछि उनीहरु नियमित विद्यालय जान थालेका हुन् । बोदेवरसाइन नगरपालिका–३ की कुशमाहारकी १४ वर्षीया काजलकुमारीले किशोरी शिक्षा कार्यक्रम बरदान नै सावित भएको बताउनुहुन्छ । अहिले कक्षा पाँचमा अध्ययनरत किशोरी काजलकुमारीले भन्नुभयो, “अहिले नगरपालिकाले विद्यालय पढ्न जान हामी किशोरीलाई झोला र कपीकलम उपलब्ध गराएपछि विद्यालय जान हौसला बढेको छ ।” विद्यालयमा राम्रोसँग पढेर आफू जस्तै पढ्नबाट वञ्चित किशोरीलाई विद्यालयको पहुँचमा पु¥याउन भविष्यमा सहयोग गर्ने काजल बताउनुहुन्छ । यस्तै कक्षा दुई मात्र पढ्न पाएर घरायसी कारणले पढाइ छाडेकी बोदेवर्साइन नगरपालिका–३ गौरा बस्ने १३ वर्षीय सञ्जना पनि आफ्नै घर नजिक सञ्चालन भएको किशोरी शिक्षा केन्द्रका कारण पुनः विद्यालयमा फर्किन पाएको मा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “किशोरी शिक्षा कार्यक्रम र नगरपालिकाको सहयोगले हामी जस्तो किशोरीको जीवनमा शिक्षाको उज्यालो भरिदिएको हो ।” सञ्जना अहिले दौतरीसँगै स्थानीय चन्द्रा नमुना माध्यमिक विद्यालयमा कक्षा ५ मा पढन् पाएकोमा खुसी हुनुहुन्छ ।