म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पु¥याउनाका साथै कुकाठको नाममा सामुदायिक वनहरुले चिउरी, पैयुँ र दुदिलाका बोटहरु काटेकाले पुष्परसका बोटको अभावले मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ । जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरलगायत गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका छन् । मालिका गाउँपालिका–२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयुँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताउनुभयो । जैसीले विगतका वर्षहरुभन्दा यो वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोटहरु ढालिएकाले यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको बताउनुभयो । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुका कारण पुष्परसमा कमी आउनु नै हो”, जैसीले भन्नुभयो ।