राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले बताउनुभयो । मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का–कृष्ण बिएन जेभीले काम सुरु गरेको छ । मालढुङ्गाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । दश किलोमिटर दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ । दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र भइसक्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । रु तीन अर्ब ३० करोडमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।