राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुर आउनुहुने भएको छ । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उहाँ भोजपुर आउन लाग्नुभएको हो । शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको छ । उहाँको जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँको परिवारले १८ रोपनी जग्गा निःशुल्क दिनुभएको छ । यहाँ विद्यालय सञ्चालनको लागि एकाडेमिक भवन, छात्राका लागि होस्टल, प्रिफेव भवनसँगै स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवनलगायत निर्माण भएको साइट इन्जिनियर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिको पहलमा शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन् ।