जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो”, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ”, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भन्नुभयो । यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताउनुभयो । रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ । “आगामी असार मसान्तसम्म म्याद थप भएको छ’’ पौडेलले भन्नुभयो, ‘‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’’ बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले दाबी गर्नुभयो । ‘‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौंँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौंँ’’ श्रेष्ठले भन्नुभयो, ‘‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’’