मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका–६ दुखुका ओमकार रोकाले बताउनुभयो । पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । “सबस्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ, छ सयमध्ये तीन ठाउँमा करिब ८० खम्बा गाड्न र तार तान्न बाँकी छ”, उहाँले भन्नुभयो, “बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन् ।” खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।
