कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताउनुभयो । कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उहाँले बताउनुभयो । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिनुभयो ।