जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ । ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शङ्कर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिकटन जीवनाषक विषादी आयात हुने गरेको छ । एकसय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो ।