ः व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उहाँलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ । आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाउनुभएको हो । स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९÷२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन् । प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन् । बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताउनुभयो । “बा काम गर्न गए, आमा सुन्तला टिप्न”, ढिला गरी विद्यालय पुगेका सुनिलले भन्नुभयो, “भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ । आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइदैन ।” आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको रु दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताउनुभयो । आमा सुन्तला टिप्न गएको दिन आफूहरुले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताउनुभयो । “बा काममा जाँदा भाइबहिनी हेर्ने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आमा आज सुन्तला टिप्न गयो, सिस्नो टिपेर भात पकाएर खाँदा स्कुल आउन ढिलो हुन्छ ।