टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आइतबार ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ । आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतङ्कवादविरुद्धको लडाइँलगायत टर्की–रूस सम्बन्धबारे छलफल भएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । टर्कीको मध्यस्थतामा भएको खाद्यान्न सम्झौताले एक करोड ३० लाख टनभन्दा बढी खाद्यबस्तुलाई आवश्यक व्यक्तिहरूसम्म पुग्न सुनिश्चित गरेको छ । उनीहरू (रूसी) ले ‘खाद्यान्न करिडोरमार्फत विभिन्न खाद्य उत्पादनहरू र क्रमशः अन्य वस्तुहरूको निर्यातमा काम सुरु गर्न सक्छन्,” विज्ञप्तिमा भनिएको छ । जुलाई २२ मा, रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग छुट्टाछुट्टै रूपमा एक सम्झौतामा हस्ताक्षर गरे जुन रूस–युक्रेन द्वन्द्वको बीचमा विश्व बजारमा खाद्यान्न र मल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण बनेको छ । अङ्काराले विश्व बजारमा पनि रूसी खाद्यान्न र मल निर्यात पुनः सुरु गर्न मार्ग प्रशस्त गर्न प्रयास गरिरहेको बताएको छ ।