विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो । महानगरका प्रमुख नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बीउ र जिङ्क वितरण गर्नुभएको हो । महानगरका प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउँदै रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गर्नुभयो । उहाँले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । “महानगरपालिकाभित्र जति जमिन छ, त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।”