म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् रु ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताउनुभयो । “वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,” उहाँले भन्नुभयो “भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ ।” वारीबेनी-मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र जलजला गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज-लेकफाँट सडक स्तरोन्नतिका लागि रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताउनुभयो ।