बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गर्नुभएको छ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त विश्वविद्यालयको गतवर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको थियो । विश्वविद्यालय सञ्चालन विधेयककको मस्यौदासमेत तयार गरी विश्वविद्यालयको सङ्काय र अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकास भइरहेको जनाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने छ । राष्ट्रिय सुरक्षासम्बद्ध सञ्जालको विकास गर्नाका साथै रणनीतिक संस्कार (स्ट्रयाटे«जी कल्चर) र उच्चस्तरीय नागरिक–सैनिकसम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने महत्वकांक्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको जनाइएको छ । आव २०८०÷८१ भित्र विश्वविद्यालयका संरचना तयार गरी पहिलो चरणको तालिम सञ्चालन गर्नेगरी प्रक्रियागत कार्यलाई तीव्रता दिइएको बताइएको छ ।