यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् । “इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन्, किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन्”, बरहथवा नगरपालिका– १२ का उखु उत्पादक किसान बलिराम रायले भन्नुभयो । उहाँका अनुसार चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्काे बाली पनि लगाउन पाएनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।