बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रूपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन् । कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यावहारिकरूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए । तालबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष हिरामणि भट्टराईले आज साङ्केतिकरूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकैपटक सात सय देखि आठ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको जनाउँदै व्यवस्थापनको मिचाहा प्रवृत्तिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।