गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आउनुभएका गुल्मीका अभिषेक शर्माले बताउनुभयो । “सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो