गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् । पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्नुहुन्थ्यो । उहाँको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उहाँ त्यस्तै पाठशालाको खोजीमा लाग्नुभयो । पाल्पाबाट बुटवल जानुभएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुप¥यो । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उहाँ भन्नुहुन्छ, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ”, उहाँले भन्नुभयो । शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ । गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा हुनुहुन्थ्यो । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उहाँ अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताउनुभयो ।