७९ मंसीर २४ काठमाडौ।

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ अन्तर्गतको सडक निर्माणको काम पाँच महिनापछि सुरु हुँदा स्थानीय खुसी भएका छन् । गत आर्थिक वर्षको असारसम्म काम भएर स्थगित भएको काम निर्माण कम्पनीले सुरु गरेको हो । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीबाट निर्माण भइरहेको स्मार्टसिटी कार्यक्रमअन्तर्गतको सडक निर्माण कार्य रोकिँदा स्थानीय निकै आक्रोशित भएका थिए । “सडकको काम अलपत्र हुँदा दर्जनौँ दुर्घटना भए । कयौँलाई चोटपटक लाग्यो”, स्थानीय व्यापारी गङ्गाराम चपाईले भन्नुभयो, “अब आशा गरौँ काम सुरु भएको छ, सम्पन्न नहुँदासम्म काम रोकिने छैन ।” सडकमा बिच्छाइएका गिट्टीका कारण टीकापुरका ताराप्रसाद अधिकारी मोटरसाइकल दुर्घटनामा पर्दा उहाँको हात भाच्चियो । उपचारका लागि नेपालगञ्ज पुग्नुपयो । एकातिर अनावश्यक खर्च त अर्कोतिर महिना दिनसम्म अपाङ्गताजस्तो भएर बस्दा निकै पीडा बोध भएको उहाँ बताउनुहुँन्छ । “म दुर्घटनामा पर्नेमध्येको एक उदाहरण मात्रै हुँ । म जस्ता अरु सडककै कारण दुर्घटनामा पर्नुभयो”, अधिकारीले भन्नुभयो, “सडक निर्माणको काम सुरु हुँदा अहिले खुसी छौँ । अब काम होस् । कसैले असहज सडकका कारण समस्यामा नपरोस् भन्ने हो ।” सडकको काम अलपत्र हुँदा सवारी चलाउन निकै समस्या हुँदै आएको थियो भने पैदल यात्रुलाई समेत सास्ती थियो । बजार क्षेत्रमा सडकबाट उड्ने धुलोले जनजीवन झन कष्टकर बनाएको थियो । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले रोकिएको सडकको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । “हामीले सङ्घीय कार्यालयको प्रमुखलाई नै बोलाएर सडकको अनुगमन गराएका छौँ । आशा छ अब सडक निर्माणले गति लिनेछ”, नगर उपप्रमुख शाहले भन्नुभयो, “आशा गरौँ चालु आर्थिक वर्षको अन्तिमसम्म काम पूरा हुन्छ । असारसम्म काम सम्पन्न गर्ने गरी हाम्रो दबाब र निगरानी बढाउने छौँ ।” सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीका प्रमुख रमेश सिंहले चालु आवका लागि आयोजनाको जिम्मेवारी प्रदेशलाई गएका कारण केही समस्या भएको बताउनुभयो । “पहिले प्रदेशमार्फत काम गराउने गरी योजनाको बजेट विनियोजन भएको थियो । त्यसबेला हामीले त्यसमा चासो दिएका थिएनौँ”, कार्यालय प्रमुख सिंहले भन्नुभयो, “अब आयोजनाको जिम्मेवारी कार्यान्वयन एकाइलाई आइसकेको छ । अब काम सम्पन्न गर्न हामीले ताकेता गर्छौं ।” उहाँले चालु आवभित्र छ लेन सडक र ब्लक नं ‘ए’ को काम सम्पन्न हुने बताउनुभयो । “जसरी पनि दुवै आयोजनाको काम असार मसान्तसम्म सम्पन्न हुन्छ र हुनुपर्छ । बाँकी काम हेर्दा पनि धेरै समय लाग्ने स्थिति छैन”, प्रमुख सिंहले भन्नुभयो, “दुवै आयोजनाको काम सुरु भएको छ । केही हाम्रो प्राविधिक समस्या र केही निर्माण कम्पनीको लापर्बाहीका कारण काम समयमा सम्पन्न हुन नसकेको हो ।”