७९ मंसीर २४ काठमाडौं।

निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ ९ गते सकिँदा हालसम्म तीन वटा पिल्लरको मात्रै काम सम्पन्न भएको छ । नदी किनारमा दुई र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ । गत वर्षको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकिएको थियो । निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेको छ । निर्माण व्यवसायी योगेन्द्र कँडेलले ढाँचा परिवर्तनका कारण काम ढिलाइ भएको बताउनुभयो । “पहिला ओपन फाउण्डेशन थियो, डिजाइन परिवर्तनका लागि तीन वर्ष लाग्यो”, उहाँले भन्नुभयो, “कोभिडका कारण पनि काम ढिलो भयो ।” उहाँका अनुसार आगामी असार मसान्तसम्म म्याद थप भएकाले त्यो अवधिसम्म काम सम्पन्न हुनेछ । “वर्षाका बेला काम गर्न सकिँदैन, हिउँदमा मात्रै काम हुन्छ”, उहाँले भन्नुभयो, “सडक विभागसँगको समन्वयमा काम गर्छौं ।”