सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गर्नुभयो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो । पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।