७९ मंसिर २२ काठमाडौ ।

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ । पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन् । दरबार नजिकै टेउवाको मूर्तिकला र ताराखोलाको गाईघाट झरना छन् । मूर्तिकला र झरनामा घुम्न आउने अधिकांश पर्यटक दरबारसम्म पुग्ने गरेका छन् । दरबारसम्मै गाडीमा पुग्न सक्ने भएपछि दिनप्रति दिन आन्तरिक पर्यटक दरबारमा आउने गरेको स्थानीयको भनाइ छ । भरतपुर चितवनबाट ढोरपाटन घुम्न आउनुभएका आकाश परियारले गलकोट दरबारको पनि अवलोकन गर्नुभयो । उहाँ शान्त वातावरणमा रहेको दरबारले यहाँ आउने जो कोहीलाई आकर्षित गर्ने बताउनुहुन्छ । परियार भन्नुहुन्छ, “सयौँ वर्ष पुराना सम्पदा अहिले पनि देख्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो, यस्ता एतिहासिक महत्व बोकेका सम्पत्ति अहिले पनि छन् हाम्रो देशमा, यो ठाउँ पनि धेरैलाई आकर्षित गर्ने खालको रैछ, त्यसमाथि यति सुन्दर दरबारले मलाई अझै केही दिन यतै बसेर घुमौँघुमौँ गरायो ।”