२२ मंसिर, रूकुम ।

रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आउनुभएका बुढाले रुकुमकोटमा आँखाको उपचार गरेपछि विगतको जस्तै देख्न थाल्नुभएको छ ।

यस्तै भूमे–३ का ७७ वर्षीय गोकुल विकले पनि आँखाको उपचारपछि राम्रोसित देख्न थाल्नुभएको छ । आँखाको शल्यक्रियापछि उहाँ दङ्ग हुनुहुन्छ । रुकुमपूर्वमा यही मङ्सिर १८, १९ र २० गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा एक सय एक जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा एक–एक पाइला फाउण्डेशन र गोपाल शाहको परिवारले सिस्ने गाउँपालिका, राप्ती आँखा अस्पताल रक्षाचौर दाङलगायत अन्य निकायसँगको सहकार्यमा आयोजना गरेको शिविरबाट धेरै लाभान्वित भएका छन् । रुकुमपूर्वमै आँखाको शल्यक्रिया गर्ने सुविधा नहुँदा र पछिल्लो समयमा जिल्लामा आँखा शिविर सञ्चालन नगर्दा एउटै शिविरबाट धेरैले लाभ लिएका छन् ।

घरआँगनमै एक रुपैयाँ खर्च नगरी आँखाको शल्यक्रिया गर्न पाउँदा खुसी लागेको भूमे–५ का पृथीबहादुर कामीले बताउनुभयो । उहाँ भन्नुहन्छ, “म अहिले ७६ वर्षको भएँ, ४० वर्षको उमेर हुँदा आँखाको ज्योति गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र गएर उपचार गर्न सकिन, अहिले देख्न सक्ने भए ।”

सिस्ने गाउँपालिका–५ का गनेश शाहले शिविरबाट धेरैजना लाभान्वित भएको बताउनुभयो । “जिल्लामै भरपर्दो स्वास्थ्य सेवा पाउन समस्या छ, भरपर्दो सेवाका लागि दाङ, नेपालगञ्ज, काठमाडौँलगायत ठाउँ धाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

शिविरबाट एक हजार आठ सय चार जना लाभान्वित भएको एक–एक पाइला फाउण्डेशनका अध्यक्ष एवं नेत्ररोग विशेषज्ञ डा सुमनशम्शेर थापाले बताउनुभयो । “रुकुमपूर्वमा एक–एक पाइलाको यो २६औँ शिविर हो, यहाँ धेरै बिरामी लाभान्वित भएका छन् ।” शिविरमा नेत्ररोग विशेषज्ञ डा थापासँगै राप्ती आँखा अस्पताल रक्षाचौर दाङका डा सुरेश रसाइली, स्त्रीरोग विशेषज्ञ डा ऋचा गिरी, छाला रोग विशेषज्ञ डा सविना भट्टराई, कान रोग विशेषज्ञ डा कुञ्जन आचार्य, दाँतरोग विशेषज्ञ डा उषा थापा, रेडियोलोजी डा अमित श्रेष्ठ, प्याथोलोजी डा डोल्कर घले, बालरोग विशेषज्ञ डा विश्व अधिकारी, डा सुदाम्सु केसी, डा राज राणासहित ५५ जनाको टोलीले स्वास्थ्य शिविरमा सेवा प्रदान गरेको थियो ।

रुकुमपूर्वमा फाउण्डेशन र गोपालबहादुर शाही परिवारको आयोजना तथा सिस्ने गाउँपालिकाको समन्वयमा शिविरको आयोजना गरिएको हो । रुकुमपूर्व शाहीको पुख्र्यौली थलो भएको र यहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकार रहेकाले पनि शिविरमार्फत स्वास्थ्यको क्षेत्रमा केही सुधार ल्याउन सकिन्छ कि भन्ने उद्देश्यले फाउण्डेशनसँग समन्वय गरेर शविर सञ्चालन गरेको शाहीले बताउनुभयो ।