स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न । अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य हुनुभयो, गुल्मीको रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा । “स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ”, उहाँ भन्नुहुन्छ, “बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो”, उहाँले भन्नुभयो । बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताउनुभयो । स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा हुनुहुन्छ, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य । उहाँले सुरुआती चरणमा नै स्वास्थ्य बीमा गर्नुभएको थियो । बीमाका कारण उहाँ सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउनुहुन्छ । “आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु”, उहाँ भन्नुहुन्छ, “आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?” उहाँले भन्नुभयो । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ ।