कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुग्नुभयो । अस्पतालमा बीमा कार्ड देखाउँदै उहाँले निःशुल्क सेवा लिन खोज्नुभयो । तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उहाँलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए । उहाँ रु एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किनुभयो । “स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “ सहुलियत नपाउने बीमा गरेर के फाइदा ।” उहाँसँगै अस्पतालमा भेटिनुभएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गर्नुभयो । उहाँले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गर्नुभयो । “बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ ।” उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउनुहुन्छ । “हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन ।”