२१ मंसिर, रामेछाप ।
जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कस्थित डुकुरसिंडाँडामा रहेको ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासिक तीर्थस्थलको रुपमा रहेको डुकुरसिं महादेवस्थान धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भए पनि उचित संरक्षण नहँुदा ओझेलमा परेको हो ।
डुकुरसिं महादेवस्थानमा गाईको खुरको आकारमा महादेवको शिला रहेको छ । यो त्यहाको बाबियाखर्क डाँडाको जङ्गलभित्र रहेको छ । तत्कालीन अवस्थामा सिन्धुलीगढीमा अङ्ग्रेजसँग गोर्खालीको लडाइँ हूदा यो स्थानमा गोर्खाली सेनाको एउटा टोली ब्याक फोर्सको रुपमा यही डाँडामा बसेकोे ऐतिहासिक किंम्बदन्ती रहेको छ ।
सेनाको टोली त्यहाँ बस्दा डकुरसिं महादेवको आराधना गरी शक्ति प्राप्त गरेको भन्ने विश्वासले पनि यो महादेवस्थानलाई शक्तिका महादेव मानेर टाढा टाढाबाट भक्तजन पुग्ने गरेका छन् । लामो समयसम्म खडेरीका कारण हुने क्षति पश्चात स्थानीयवासी मिलेर सो महादेवस्थानमा रुद्री लगाउँदा त्यही दिन पानीपर्ने गरेको किंबदन्ती पनि यहाँको रहेको छ ।
उक्त स्थानमा २१ फिट अग्लो नाचिरहेको गाणेशको मूर्ति स्थापना गरिएको छ । जिल्ला सदरमुकाम मन्थली तथा पुरानो सदरमुकाम रामेछापको सिमानामा पर्ने यो स्थानबाट मन्थली सदरमुकाम र वरिपरीका हरियाली फाट देख्न सकिने भएकाले पनि यस क्षेत्रको राम्रो पर्यटकीय सम्भावना रहेको स्थानीय हरिकुमार कार्की बताउँनुहुनछ ।
पर्यटकीय हिसाबले धेरै सम्भावना रहेको र लामो इतिहास बोकेको डुकुरसिं महादेवस्थान संरक्षण र आवश्यक प्रचारप्रसार नहँुदा ओझेलमा परेकोले स्थानीयवासी बद्रीप्रसाद घिमिरेको भनाइ छ । यस क्षेत्रको संरक्षण, बिकास र प्रचारप्रसारका लागि स्थानीय सरकारको ध्यान जानुपर्ने उहाँ बताउनुहुन्छ ।
उक्त क्षेत्र संरक्षणको लागि जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सिमानामा पर्ने भएकोले आवश्यक प्रचारप्रसार र विकासमा साझेदारी कार्यक्रम अघि बढाउने तयारी भइरहेको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।