रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उहाँलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पथ्र्यो । अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लाग्नुभएको छ । “खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।” उहाँले यस वर्ष करिब दुई क्विन्टल आलु लगाउनुभएको छ । उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती लगाइएको उहाँले बताउनुभयो । रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आउनुभएको छ । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्नुहुन्छ । धेरै आलु उत्पादन गर्ने उहाँलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ । उहाँले पाँच–सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहनुभएको छ ।