२० मंसिर, ताप्लेजुङ ।

ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाँैस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् ।

बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । शिविरमा मेची आँखा अस्पतालले  प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडाँैले निःशुल्क औषधि उपलब्ध गराएको छ ।