कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्नुभयो । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उहाँलाई छ । “बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो । कतिले गाली गरे । कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए”, उहाँले भन्नुभयो, “कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन । यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान् । म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु ।” चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्नुभयो । विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा समुदायका प्रत्येक घर–घरमा पुग्नुभएकी उहाँ कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको स्मरण गर्नुहुन्छ । हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन । सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो । “कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ”, उहाँले भन्नुभयो, “कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए ।”