२० मंसिर, काठमाडाैं ।

ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो । दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले नेपालभन्दा भारतीय बजारमा भुजा बढी बिक्री हुने गरेको बताउनुभयो । घरमा भुटेको भुजा दैनिक भारतीय बजारमा लाग्ने हटियामा लगेर बेच्ने गरेको उहाँको भनाइ थियो ।

दैनिक २५ किलो चामलको भुजा बनाएर बिहानदेखि ग्रामीण भेग तथा हटियामा लगेर बेची दुई सन्तानको पालनपोषणसँगै शैक्षिक खर्च पनि व्यहोर्दै आएको उहाँले बताउनुभयो  ।  

एकदेखि दुई घण्टामा नै सबै भुजा बिक्री गरेर दैनिक  रु छ सयदेखि रु आठ सयसम्म कमाउने गर्नुभएकी मण्डलले  खाजादेखि चटपटे र सक्खरको लड्डु बनाउन भुजा नै आवश्यक भएकाले माग धेरै हुने गरेको छ भन्नुभयो । 
अचेल कारखानाबाट उत्पादित भुजा सस्तोमा उपलब्ध भए घरमै भुटेको भुजा उपभोक्ताले बढी मनपराउने गरेको विराटनगरकी सरु पहरीले बताउनुभयो ।   विराटनगर–६ मा भुजा बेच्दै गर्नुभएकी  कटहरीकी  मालसरदेवी मण्डलले नेपालीभन्दा भारतीयले बढी भुजा किन्ने गरेका छन् भन्नुभयो  ।  भुजा किन्न कतिपयघरमै आउने गरेको जानकारी दिँदै उहाँले हप्तामा एक–दुईपटक नेपाली बजारमा  आए पनि प्रायः भारतीय बजारमै भुजा बेच्न जाने गरेको जानकारी दिनुभयो । 

रु एक सय २०मा प्रतिकिलो भुजा बेच्ने गरेको बताउँदै उहाँले मिलको भुजा सस्तो भए पनि भुटेको भुजाको बढी माग भएको मालसरादेवीले सुनाउनुभयो । कतिपयले धान किनी उसिनेर, सुकाएपछि भुजा भुट्ने चामल तयार पार्ने गरेका छन् भने कतिपय प्रतिकिलो रु ५५ का दरले उसिना चामल किनेर भुजा बनाउने गरेका छन्  ।   शशिकला राजवंशीले भारतीय बजारमा अहिले बढी भुजाको माग भए पनि विगतको भन्दा आधा व्यापार कम भएको बताउनुभयो ।