कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्टले बताउनुभयो । “छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।” यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया सङ्कलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन् । नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताउनुभयो । “नगरपालिकालाई पटक–पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौँ, तर केही चासो देखाएन”, उहाँले भन्नुभयो।