पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका वडा नं ५, जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडा अध्यक्ष नवराज लामाले पनि सहयोग गर्नुभएको बचतकर्ताले जनाएका छन् । मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्नुहुने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शङ्का लाग्ने अवस्था आएको बताउनुहुन्छ । दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिका बारेमा बचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उहाँले बताउनुभयो । बचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीको फोन सम्पर्क हुन छोडेको छ । जसले गर्दा बचतकर्ता तनावमा रहेका छन् । सहकारीको प्रभावकारी नियमन र अनुगमन नहुँदा बचतकर्ता तनावमा रहनुपर्ने अवस्था आएको एक बचतकर्ता श्याम लामाले बताउनुभयो । मञ्जुश्रीले फिर्ता गरेन बचत :——- मञ्जुश्री सहकारी तीन महिनादेखि बन्द भएको भन्दै बचतकर्ताले आपत्ति जनाएका छन् । बचत झिक्न जाने बचतकर्तालाई सहकारीले साउन २५ गतेदेखि निरन्तर सूचना टाँस गरी म्याद बढाउँदै आएको छ । तर आजसम्म पनि सहकारीले बचत फिर्ता गरेको छैन । पटकपटक दिएको म्यादको अन्तिम दिन आइतबार पनि बचतकर्ता सहकारीमा पुगे तर कार्यालय खुलेन । बचतकर्ताहरू जोरपाटी चोकको मूल सडकमै दुई घण्टा धर्ना बसे । सहकारीका अध्यक्ष इन्द्र लामालगायत पदाधिकारी, सञ्चालक सदस्य, एवं कर्मचारीलाई फोन लगाए । कसैको फोन उठेन । सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भएको बचतकर्ता उमेश खतिवडाले राससलाई जानकारी दिनुभयो । पटकपटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दशैँपछिदेखि त कार्यालय नै खुल्न छोडेको उहाँले सुनाउनुभयो । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले सहकारी कार्यालय र अध्यक्षको घरमै पुगेर धर्ना दिएका हुन् । सहकारीका पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीको फोन पनि नउठ्ने, कार्यालयमा पनि नआउने भएपछि बचतकर्ताको समूह अध्यक्ष लामाको बौद्ध भुवालडाँडास्थित घरमै पुगे । ऋणीले लिएको ऋण नतिरेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न नसकिएको उहाँको भनाइ छ । “सहकारीले करिब रु ११ करोड वचत फिर्ता गर्नुपर्ने छ, बजारमा रु सात करोड ऋण लगानी छ, रु पाँच करोडको घर सहकारीका नाममा छ, शेयर सदस्यको शुल्क रु एक करोड गरी रु १३ करोडको पुँजी छ, यसैले बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या छैन, अहिले बजारबाट ऋण नउठेकाले मात्र समस्या भएको हो, हामी बचतकर्ताको एक पैसा पनि खाँदैनौँ, सबैको पैसा फिर्ता गर्छौँ”–उहाँले भन्नुभयो ।