१८ मंसिर, काठमाडाैं ।

जापानमा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल सुरु हुँदैछ । डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न ६८ सुन्दरी जापानमा भेला भएका छन् ।

मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का पनि जापान पुगेकी छन् । अहिले प्रतिस्पर्धी सुन्दरीलाई आयोजकले सामाजिक र वातावरणीय कामको जिम्मेवारी दिएका छन् । सोहीअनुसार सबटाइटल विजेता घोषणा गर्ने मिस इन्टरनेसनलको तयारी छ ।

जसमा नेपालसहित अन्य १३ मुलुकका सुन्दरीले मेयरसँग भेटवार्ता गरे । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले यसबारे जानकारी दिएको छ । नेपालको तर्फबाट न्यान्सीले मेयरहरुसँग भेटवार्ता गरेको उल्लेख छ ।

कोरोना महामारीको कारण यसअघि दुई वर्ष भर्चुअल रुपमा भएको प्रतियोगिता यसपटक भौतिक रुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने यसपटकको संस्करणमा राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन ‘ब्युुटीज् फर एसडीजी’ नारा राखिएको छ ।