पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ । “लगभग रु पाँच लाखभन्दा बढीको लगानी भइसकेको छ । अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो । तर दुई वर्षअगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो । त्यसले अहिलेसम्म पनि छाडेको छैन,” समूहकी कोषाध्यक्ष वीरमाया पुनले भन्नुभयो, “रोपेको तीन वर्षमा राम्रो उत्पादन दिने भनेको हो । अहिले पाँच वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन । पारिपट्टिको क्याङ गाउँमा पनि यस्तै भएको छ भन्छन् । पहिले २५ क्विन्टल फलेकामा अहिले १५ क्विन्टल जति होला भनेका छन् ।” समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा सुरुमा पात सुक्ने र पछि लाँक्रा नै मर्ने समस्या देखिएको थियो । समस्या समाधानको प्रयास नभएको पनि होइन । तर हरेक विधिले उपचार गर्दा पनि समस्याको समाधान नभएको पुनले बताउनुभयो । “हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैँची रोपेका छौँ । सुरुमा बिरुवाहरू राम्रो भएर हुर्किंदै आए तर पछि पात सुक्दै जाने र अन्तिममा लाँक्रा नै मर्ने समस्या देखियो,” उहाँ भन्नुहुन्छ, “समस्या समाधानका लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै हेर्नुभएको हो । सरसफाइ र केही औषधिले केही कम भएको भए पनि बिरुवा सुक्ने क्रम रोकिएको छ ।” समस्या देखिएको भनेर गुनासो आएपछि कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताउनुभयो । परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको सङ्क्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम भए पनि फेरि पनि समस्या उस्तै रहेको उहाँको भनाइ छ ।