नाइजेरियामा यहाँका एचआइभी सङ्क्रमितहरुको औषधि उपचारमा पहुँच पुर्याउनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर यहाँको सरकारले नै अनलाइनबाट चन्दा सङ्कलन अभियानको सुरुवात गरेको हो । सरकारले एचआइभीको उपचारका लागि आवश्यक रकम सङ्कलनका लागि एचआइभी ट्रष्ट अनलाइन डोनेसन कार्यक्रमको सुरुवात गरेको हो । यहाँ एचाइभी सङ्क्रमण बढ्दै गएको तर पनि यसको औषधि उपचार महङ्गो भएकाले सरकारले आवश्यक मात्रामा बजेट व्यवस्था गर्न नसकेको गुनासो आएको थियो । सो गुनासोको सम्बोधन गर्दै एचआइभी एड्स सङ्क्रमितहरुको उपचारका लागि यो अनलाइन डोनेसन कार्यक्रम सञ्चालन गरिएको सरकारले बताएको छ ।अनलाइनमार्फत् रकम सङ्कलन गर्ने गरी सुरुवात गरिएको सो कार्यक्रममा नागरिकहरुले पनि व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउन सक्नेछन् । नाइजेरियाको एचआइभी एड्स सङ्क्रमण नियन्त्रण तथा उपचार केन्द्रका निर्देशक ग्याम्बो एलिउले सो अभियानमा सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।एचआइभी सङ्क्रमणमा परेका बालबालिकाका लागि सबै अभिभावकहरुले आफ्नै बालबालिका विरामी परेको भन्ने ठानेर सहयोग गर्न आग्रह गर्नुभयो ।