१५ मंसिर, काठमाडाैं ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञ सभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा प्रज्ञाले विसं २०३० देखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब पाँच सयभन्दा बढी थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उहाँले दिनुभयो ।

माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरू बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । यसपटक भने प्राज्ञ सभाको अवसर पारेर प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको शुभारम्भ गर्नुहुँदै निमित्त कुलपति डा जगमान गुरुङले प्रतिष्ठानले प्रकाशन गरेका भाषा, साहित्य, संस्कृतिका पुस्तक कागजको मात्र मूल्य लिएर पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले नै सहुलियत दिएर बिक्री गर्न लागिएको जानकारी दिनुभयो । निमित्त सदस्यसचिव प्रा डा हेमनाथ पौडेलले ३८औँ प्राज्ञ सभाको अवसर पारेर गरिएको पुस्तक प्रदर्शनी यही मङ्सिर २९ गतेसम्म जारी रहने बताउनुभयो ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रूपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ ।

यसपटकको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका बदरीनाथ भट्टराईले लेख्नुभएको ‘संस्कृत साहित्यको सिंहावलोकन’, शीतल गिरीको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, श्याम खनाल सङ्कलक/सम्पादक रहेको ‘नयराज पन्तका ज्योतिषी चिन्तन’, अनुवादक र सम्पादक स्नेह सायमी रहनुभएको ‘नेपाल भाषाका समकालीन कविता’, सम्पादक जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको ‘चूडानाथ भट्टराईका पौरस्त्य दार्शनिक कृतिहरू’ नामक पुस्तक राखिएको छ ।

यसैगरी लेखक डा बिपी बाजपेयी र अनुवादक डा विज्ञान भिक्षु रहनुभएको ‘विश्व धर्म (प्राणनाथका धर्महरूको एकीकरण)’, प्रा डा कृष्णचन्द शर्माको ‘नेपालमा नाथ योग दर्शनको परम्परा’, डा शुक्रराज अधिकारीको ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानीय व्रतकथा’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, सम्पादक योगेन्द्रप्रसाद यादव रहनुभएको ‘मातृभाषाको रुपरेखा भाग–३’, भीमराज गौतमको ‘कुसुण्डा भाषाको व्याकरण’ र भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’लगायत पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।

यही मङ्सिर २५ गते प्रतिष्ठानको ३८औँ प्राज्ञ सभाका अवसरमा प्रदर्शनी आयोजना गरिएको हो । पाठकको रुचि बढेमा मङ्सिर २९ गतेपछि पनि प्रदर्शनीलाई निरन्तरता दिइने प्रतिष्ठानले जनाएको छ ।