स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगँैचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ ।