यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक हो । मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन् ।” धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।”