हेटौंडा, विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ । दुईपटक त उहाँले बञ्जीजम्प गरिसक्नुभयो । परिवारसहित घुम्न आउनुभएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउनुहुन्छ । हेटाँैडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ । घिमिरे भन्नुहुन्छ, “म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटाँैडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ ।” चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आउनुभएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो, “बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।”