पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ तयार गरिदिने भएको हो । यसका लागि रु पाँच लाख ११ हजार एक सय ११ दिने प्रतिबद्धता व्यक्त गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उक्त रकममध्ये पहिलो किस्तास्वरुप रु एक लाख एक एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो । आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानव राख्न पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा भवन निर्माण गरिरहेको छ । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा उसले मानवसेवा आश्रम पोखरालाई रु एक लाख आठ हजार आठ सय ४८ सहयोग गरेको थियो । एफएमका लगानीकर्ता दीपक कार्कीले पनि आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गर्नुभयो । यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धिका लागि पोखरामा आउँदो पुस १२ गते चर्चित ब्याण्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागिएको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ ।