बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यद्यपि उहाँले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । बैठकपछि बङ्गलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गर्नुभएको थियो । बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ । यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ । समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।