एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । रु तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।”