यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो । जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसारसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् । उहाँले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताउनुभयो । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उहाँले जानकारी दिनुभयो ।