पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको छ । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत हुनुभएको थियो । उहाँको दल अहिले प्रतिपक्षमा छ । उहाँले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आउनुभएको छ । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् । वर्तमान् सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ । खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन शुरू गर्नुभएको थियो । विरोध अभियानका क्रममा केही हप्ता पहिले उहाँको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बन्नुभएको थियो । उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।