बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्र्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोपबहादुर खड्काले बताउनुभयो । “बर्सेनि समस्या बढ्दै आएको छ आँैसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ”, उहाँले भन्नुभयो, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।” सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञानकेन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो ।