चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एकएक सिट जितेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार चार सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार एक सय १३ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको थियो । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उमेदवार दिनेशकुमार यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत विजयी हुनुभएको छ । जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गर्नुभयो ।