कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी हुनुभएको हो । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुुभएको हो । माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा छ हजार मतान्तरले विजयी हुनुभएको हो । कालीकोटमा खसेको कूल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले शाहीले १६ हजार सात सय १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । कालीकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्नुभएको हो । रावत नौ हजार ११ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको छ । कालीकोट प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार सात सय ८३ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निटकम् प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार आठ सय ३९ मत पाउनुभयो ।